यस दिन नेप्से परिसूचक ११.९७ अंक घटेर २६४६.९५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार साढे ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ५९ हजार १३० पटकको कारोबारमा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ओम मेगाश्रीको शेयरमूल्य १८१ रुपैयाँ २७ पैसा बढेर १ हजार ९९४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने पियोर इनर्जीको ४२ रुपैयाँ ३० पैसा बढेर ४६५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सुपर माई हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ५.८१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको करिब ३० करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब साढे २२ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहकाे परिसूचक सामान्य बढेकाे हाे। यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ।