Ipo.aspx merolagani - सातामा साढे ७ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

सातामा साढे ७ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Dec 16, 2023 06:58 AM Merolagani

यस साता नेप्से परिसूचक साढे ७ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन १८५२.७७ विन्दुमा बन्द भएको नेप्से, यस साता ७.६६ प्रतिशत अर्थात १४१.८३ अंक बढेर १९९४.६० विन्दुमा पुगेको छ।

अघिल्लो साताको शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सकारात्मक भएका कारण यस साता बजार बढ्न पुगेको हो।

यस साताको पहिलो कारोबार दिन नेप्से ६ प्रतिशत बढेर सर्किट ब्रेक लागेर नियमित समय अवधिभन्दा अगावै बन्द भएको थियो। यस साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन बजार घटेर बन्द भएको थियो भने ४ कारोबार दिन बजार बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ६.८४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ७.४७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.२० प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब ५३ करोडको शेयर कारोबार भइरहेको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११८.३२ प्रतिशत बढी हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ९८.८६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७४.२० प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ७ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६२ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब १४ अर्ब बढेर ३० खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १३.४७ प्रतिशत बढेको छ। गत साता १९६२.२५ विन्दुमा रहेको सो उपसमूहको परिसूचक, यस साता २५८.३४ अंक बढेर २२२०.५९ विन्दुमा पुगेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ४.७८ प्रतिशत बढेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८४२.११ अंक बढेको छ।

यस साता नेप्सेमा कुल १३ करोड ४५ लाख ८४ हजार ९८० कित्ता धितोपत्र सूचीकृत भएको छ। यस साता दुई कम्पनीको हकप्रद शेयर, एक कम्पनीको आईपीओ, एक कम्पनीको ऋणपत्र र एक म्युचुअल फण्ड गरी सो बराबरको धितोपत्र नेप्सेमा सूचीकृत भएको हो।

यस साता डोल्टी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ५५.९० प्रतिशत बढेको छ। त्यसैगरी, मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य ३७.७० प्रतिशत बढेको छ भने हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य साढे ३४ प्रतिशत बढेको छ। यस साता छिमेक लघुवित्त, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र युनिलिभर नेपालको मात्र शेयरमूल्य घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, अप्पर हेवाखोला लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने स्वाभिमा लघुवित्त, जनउत्थान लघुवित्त, एनआईसी एशिया बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus