Ipo.aspx merolagani - सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Mar 09, 2024 06:21 AM Merolagani

यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता १९७२.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९६ प्रतिशत अर्थात ५८.४६ अंक बढेर २०३०.५५ विन्दुमा बन्द भएको छ।

यस साताको बजार राजनीतिक गतिविधिले प्रभावित पारेको छ। यस साताको आइतबार पुरानो गठबन्धन तोडिएपछि बनेको नयाँ गठबन्धनको अर्थमन्त्रीमा लगानीकर्ताहरुले रुचाएका अर्थमन्त्री विष्णु पौडेल आउने अपेक्षाले सोमबारको बजार ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको थियो। तर, अन्यौलतासँगै अन्य कारोबार दिनहरुमा उतारचढाव भएसँगै अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्तिसँगै सामान्य बन्दै गएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ८.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०६ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ। यस साताको दैनिक औषत कारोबार रकम, गत साताको तुलनामा १३.८७ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ११.४६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १०.९४ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९१ अर्ब बढेर ३१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५१ प्रतिशत बढेको छ। गत साता २४५९.६० विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ११०.९८ अंक बढेर २५७०.५८ विन्दुमा पुगेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३०६.४८ प्रतिशत बढेको छ।

यस साता व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४५ प्रतिशत घटेको हो भने व्यापार उपसमूहको ०.१२ प्रतिशत घटेको हो।

यस साता नेप्सेमा ६ कम्पनीको कुल १ करोड ३२ लाख ३२ हजार ७५५.२५ कित्ता शेयर सूचीकृत भएको छ। यस साता छिमेक लघुवित्त, युनिभर्सल पावर कम्पनी, सोल्टी होटल, युनाइटेड अजोड इन्स्योरेन्स, जीवन विकास लघुवित्त र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य सर्वाधिक २०.४१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता सिवाईसी लघुवित्त, स्वरोजगार लघुवित्त र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य १७ प्रतिशतभन्दा बढी बढेको छ। यस साता बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सर्वाधिक १४.२५ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता धौलागिरी लघुवित्त, सिवाईसी लघुवित्त, गुराँस लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सुचीको शीर्ष स्थानमा रहेका छन् भने नेशनल लाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, सुपर मादी हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus

अर्थमन्त्रालयमा पुन, गृहमा रवि र रक्षामा विष्णु पौडेल कन्फर्म !

Mar 05, 2024 11:31 AM

सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।