Ipo.aspx merolagani - करिब २ वर्ष यताकै उच्च कारोबार, एक दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

करिब २ वर्ष यताकै उच्च कारोबार, एक दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 16, 2024 03:21 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ। नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि उच्च दरले बढेको छ।

यस दिन ३०४ स्टकको १ लाख ३३ हजार पटकको कारोबारमा ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ। यस दिन करिब २ वर्षपछि नेप्सेको कारोबार रकम ८ अर्ब नाघेको हो। यस अघि २०७८ माघ २० गते साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात यस दिन नै ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो।

मंगलबार नेप्से परिसूचक ५४.५४ अंक बढेर २१७५.१७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटेको छ। त्यसका साथै बैंकहरुले शेयर धितोमा कर्जा प्रवाह गरिरहेका छन्। जसका कारण अहिले बजार बढेको जानकारहरु बताउँछन्।

यस दिन एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये ८ जलविद्युत कम्पनी रहेका छन्। त्यसैगरी, यस दिन अन्य ८ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ६३ स्टकको मूल्य घटेको छ। जसमध्ये ज्योति विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हिमालयन ८०–२० को इकाईमूल्य ९.७० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन निफ्राको २३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम २१ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

अझै पनि बिग मर्जर नै गर्ने तयारीमा वाणिज्य बैंकहरु, यी ६ बैंकले पारित गरे मर्जरका एजेन्डा

Jan 17, 2024 06:16 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् ।