Ipo.aspx merolagani - तीन कम्पनीको शेयरमूल्य समायोजन

तीन कम्पनीको शेयरमूल्य समायोजन

Jan 02, 2024 06:33 AM Merolagani

पुस १७ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने गरिमा विकास बैंकको ९.५० प्रतिशत र छिमेकको ५ प्रतिशत बोनस समायोजन गरेको हो। समायोजन पश्चात लुम्बिनीको शेयरमूल्य ३८६ रुपैयाँ ५४ पैसा, गरिमाको ३७४ रुपैयाँ ४३ पैसा र छिमेकको ८६५ रुपैयाँ ७१ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा लुम्बिनीको शेयर प्रतिकित्ता ४०२ रुपैयाँ, गरिमाको ४१० रुपैयाँ र छिमेकको ९०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको गरिमा विकास बैंक (GBBL) ले पुस २९ गते, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

त्यस्तै, छिमेक लघुवित्त (CBBL) ले पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, लुम्बिनी विकास बैंक (LBBL) ले पुस २६ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४।५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता मूल्य कति?

Jan 02, 2024 09:21 AM

सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।